२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

बरहथवा घटनामा मारिएक मृतकका परिवारलाई १० लाख, छानबिन समिति गठन



सर्लाहीको बरहथवा–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर भएको आन्दोलनका बेला मारिएका जयशंकर साहका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिने भएको छ भने घट्ना बारे छानविन गर्नका लागि समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राहतस्वरूप १० लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिएको हो । यस्तै उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् । समितिले घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

उक्त स्वास्थ्य चौकीलाई प्रदेश माताहात लैजाने की नगरकै माताहात राख्ने भन्ने सम्बन्धमा दुई पक्षबीच भएको विवादले आन्दोलनको रुप लिएको थियो । तर प्रहरीको गोली लागेर मारिएका साह भने आन्दोलनमा सहभागी नभइ बिजुलीको बिल तिर्न गएको बेला गोली लागेको बताइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  २ : २० बजे