त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिनेले कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत आवेदनका साथमा बुझाउनुपर्ने भएको छ । उपकुलपति पदपूर्तिका लागि सरकारले जारी गरेको ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ मा उकुत व्यवस्था गरिएको छ ।
‘प्रचलति कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र दरखास्त साथ पेश गर्नुपर्नेछ’ कार्यविधिमा भनिएको छ । साथै त्रिविमा स्वार्थको द्वन्द्व रहेका प्राध्यापकलाई पनि दरखास्त दिनबाट वञ्चित गरिएको छ । जारी कार्यविधि अनुसार त्रिविको उपकुलपतिमा प्राध्यापकले पनि प्रतिस्पर्धा गर्न पाउने छन् ।
सोमबार जारी कार्यविधिमा न्युनतम योग्यतामा कुनै पनि विश्वविद्यालयको प्राध्यापकमा नियुक्ति भई अनुभव प्राप्त गरेको हुनुपर्ने, उम्मेद्वारको शैक्षिक योग्यता न्युनतम स्नातकोत्तर हुनुपर्ने उल्लेख छ । उम्मेदवारहरुबीच शैक्षिक योग्यता, प्राज्ञिक अनुसन्धान परियोजना, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालय सम्बन्धी सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण गरेर १०० अंकमा प्रतिस्पर्धा गराइने उल्लेख छ । कार्यविधि अनुसार विश्वविद्यालय सम्बन्धी सोचपत्र र कार्य योजनालाई ३५ पूर्णाङ्क छुट्टाइएको छ भने प्रस्तुतीकरणमा २० र अन्तवार्ताका लागि १५ अंक तोकिएको छ । त्यस्तैगरी प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशन वापत ५ पूर्णाङ्क, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४ अंक, विद्यावारिधि योग्यताका लागि ५ अंक, प्राध्यापकको अनुभव भएको १० पूर्णाङ्कमा मुल्याङकन हुनेछ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।