११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजी र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । म‌ंगलबार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयका अधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् ।

‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनू होला । श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला,’ छलफलमा प्रधानमन्त्री दाहालले भनेका थिए ।

प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन पनि दिएका छन् ।

बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका ससाना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन भनेका हुन् ।

‘वैदेशिक रोजगार सूचना प्रणाली (एफ्इएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनूहोला,’ उनले भने।

प्रधानमन्त्रीले श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : ०२ बजे