जेलमा रहँदा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा खुलेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रेशम चौधरी बनेका छन् । कैलालीको टीकापुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनबाट शनिबार रेशम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका बेला रेमशले श्रीमतीको अध्यक्षतामा पार्टी गठन गराएका थिए । गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा पाएपछि १५ जेठमा छुटेका रेशमले सात महिनामै श्रीमतीलाई हटाएर आफु अध्यक्षा बनेका हुन् ।
स्थापना भएकै बर्ष ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा रञ्चिताले नेतृत्व गरेको नाउपा कैलालीमा पहिलो पार्टी बनेको थियो । मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभामा चार सिट र प्रदेशतर्फ पनि सुदूरपश्चिममा सात सिट, लुम्बिनीमा चार सिट र मधेशमा एक सिट जितेको छ ।
रेशमले पार्टीको बागडोर संहाल्दा निवर्तमान अध्यक्ष रञ्चिता भने सिनमा देखिएकी छैनन् । शुक्रबार साँझसम्म सार्वजनिक भएको २५ जना पदाधिकारीमा रञ्जितालाई कुनै भूमिकामा राखिएको देखिएको छैन भने उम्मेदबारीको दर्ता गर्ने दिन शुक्रबार उनी अधिवेशन स्थलमा समेत रञ्जिता उपस्थित नभएको बताइएको छ ।
संविधान निर्माणका क्रममा थरुहट राज्यको माग गर्दै आन्दोलन भएको थियो । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गयो । प्रहरीले रेशमलाई आन्दोलनको योजनाकार मानेर मुद्दा अघि बढायो ।
फरार भएका रेशम २०७४ मंसिर २१ गते सम्पन्न चुनावमा कैलाली क्षेत्र नं. १ बाट तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवारी दिएर विजयी भए । चुनावमा विजयी भएको तीन महिनापछि १४ फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । २०७५ सालमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भए । उच्च अदालतले पनि त्यसलाई सदर गर्यो ।