१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

जाजरकोटमा भूकम्पको लाभग्राही बढेको बढ्यै



भूकम्प प्रभावित जिल्ला जाजरकोटमा लाभग्राहीको संख्या बढेको बढ्यै भएको छ । पछिल्लो पटक थपिएसँगै लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् ।

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्यांक पठाएपछि लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको संख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उनले बताए ।

अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ । उनीहरुको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख रुपैयाँ चाहिने अनुमान यसअघि नै गरिएको थियो । सो आधारमा अझै रकम आवश्यक देखिएको छ ।

केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा एक अर्ब ९० करोड रुपैयाँ गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा एक अर्ब २६ करोड रुपैयाँ पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताए । उनका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ ।

बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ३६ बजे