१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

सत्तारुढ माओवादीका विद्यार्थी संगठनका अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी



सत्तारुढ दल माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा सुर्खेतमा पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले प्रहरीलाई अनुमति दिएको हो ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : २२ बजे