सिभिल सहकारीको बचत हिनामिना गरेको मुद्दामा लामो समयदेखि हिरासतमा रहेका इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितलाई दोषी ठहर गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको यो मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ भएको थियो। विशेषले इच्छाराजलाई दोषी ठहर गरिसकेपछि अब सजाय निर्धारणका लागि अर्को पेशी तोकिने भएको छ ।
नेकपा एमालेका पूर्वसांसदसमेत रहेका तामाङविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो । यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो ।
त्यसैगरी सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ विगो दाबी गरिएको थियो । सिभिल सहकारी प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल हाल कारागारमा छन् ।
छोरीहरु प्रतिक्षा र प्रतिष्ठाले भने सम्पति सुद्धिकरण मुद्दामा सफाइ पाएको बताइएको छ ।
सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए । त्यहीकारण सहकारीमा जम्मा भएको साढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो ।