१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

अयोध्यामा रामको प्राण प्रतिष्ठा सम्पन्न



अयोध्यामा बनेको राम मन्दिरमा विधिवत् मूर्तिको प्राण प्रतिष्ठा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् ।

प्रधानमन्त्री सयौं वर्षको प्रतिक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताएका छन् । ‘रामलला अब टेन्टमा रहने छैनन्, दिव्य मन्दिरमा रहने छन्,’ उनले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ ।’

उनले न्यायको प्राय भगवान रामको मन्दिर पनि न्यायोचित तरिकाबाटै बनेको बताए । उनले भारतको न्यायपालिकाप्रति आभार समेत प्रकट गरे । उनले रामको मन्दिरलाई शान्ति, आपसी सद्भाव र समन्वयको प्रतिक भनेका छन् । रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्ण रुपमा निरस्त भएको उनको भनाइ थियो । उनले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म दिएको बताए । ‘राम आगो होइन, ऊर्जा हो । राम विवाद होइन, समाधन हो,’ उनले भने, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राण प्रतिष्ठाले देखाएको छ ।’

उनले देशमा निराशाका लागि रत्तिभर स्थान नहरेको भन्दै अर्को एक हजार वर्षको सबल भारतको निर्माणका लागि आजकै दिन सबैले शपथ लिनुपर्ने समेत बताए । ‘अब भारतको समय हो, भारत अब अगाडि बढ्दै छ, हामी रुकने छैनौं, विकासको उचाईंमा पुग्ने छौं,’ उनले भने, ‘हाम्रो भविष्य अतितभन्दा धेरै सुन्दर हुन गइरहेको छ ।’

३१ वर्ष अगाडि ६ डिसेम्बर १९९२ का दिन हिन्दुवादी कार्यकर्ता र समर्थकहरूको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचानलाई ध्वस्त पारेका थिए । त्यही मस्जिद रहेको स्थानमा राम मन्दिरको निर्माण भएको छ । सन् १५२६ मा भारत आएका पहिलो मुगल मुस्लिम सम्राट बाबरको नाममा उनका सेनापति मीर बांकीले सन् १५२८ मा अयोध्यामा बाबरी मस्जिदको निर्माण गराएका थिए । हिन्दुहरूले रामको जन्मभूमि रहेको स्थानमा पुरानो मन्दिरलाई भत्काएर उक्त मस्जिदको स्थापना गरिएको मान्यता राख्दै आएका थिए । रामको जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : २६ बजे