१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

भ्रष्टाचारका आरोपी सुनिल पौडेल र विकल पौडेल पक्राउ, अनुमति विना बिदेशी बैंकमा खाता र अमेरिकी ग्रिनकार्ड



भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ । उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको पाएको प्रवक्ता घिमिरेले बताए । उनीहरूले सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको देखिएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको छ ।

‘विकल पौडेलको हकमा उनले अमेरिकाको स्‍थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई बुधबार पक्राउ पुर्जी दिएर थप अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरू दुवै जना हाल निलम्बित छन् । विशेष अदालतमा दायर भएका दुई वटा छुट्टाछुट्टै कसुरको मुद्दा विचाराधीन छ । सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन् । अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो । विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन् । उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो ।

अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो । विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४८ बजे