१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्ष जेल सजाय



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ ।

उनीहरुबिरुद्ध गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतमा मुद्दाको सुनुवाई गरेको थियो ।

खान र कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । वासिंटन र इस्लामाबादबीचको कूटनीतिक दस्ताबेज सार्वजनिक गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ(पीटीआई) ले झूटो मुद्दामा सजाय सुनाइएको प्रतिक्रिया दिएको छ ।

उक्त सुनुवाइमा मिडियालाई पहुँच दिइएको थिएन भने यसको ट्रायल सार्वजनिक गरिएको पनि छैन । पीटीआईका अनुसार फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने र उक्त सजाय उल्टिने अपेक्षा खानले गरेका छन् । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ ।

विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उदेश्यबाट प्रेरित भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : २१ बजे