मुगुमा आगलागी हुँदा एउटै घरका दाजु–बहिनीको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
प्रहरीका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।
बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास गर्दा दुईवटा जलेका शरीर भेटेको बताइएको छ ।
शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारतमा छन् ।
लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको बताइएको छ ।
गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।