नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको जितेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा अग्रता लिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो । प्रगत सिंह र निकोलस कीर्तनले अर्धशतक प्रहार गरे पनि क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा अलआउट भयो ।
प्रगत र कीर्तनले तेस्रो विकेटमा ७९ रनको ठोस साझेदारी गरी क्यानडालाई अघि बढाएका थिए । प्रगतले ५८ बल खेली ९ चौका प्रहार गर्दै ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले उनलाई लङ अफमा ललित राजवंशीको हातबाट क्याच गराए । पवन सर्राफको बलमा बोल्ड हुनुपूर्व कीर्तनले ९९ बल खेली ७ चौका प्रहार गर्दै ६८ रन बनाए ।
हर्ष ठाकुरले ३२ रनको उपयोगी इनिङ्स खेले । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । यसपछि रोहितले जादुमयी बलिङ गर्दै नेपाललाई असम्भव जस्तै स्थितिबाट विजय दिलाए । यसअघि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै विकेट नलिएका रोहितले ४ विकेट लिँदै नेपालको विजयमा नायक बने ।
प्लेयर अफ द म्याच रोहितको बलिङपछि १७४–३ को स्थितिमा रहेको क्यानडाले ४४ रनमा आफ्नो पछिल्लो ७ विकेट गुमाएको थियो । ललितले ८ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।
ओपनरद्वय नविनित ढालिवाल ६, एरोन जोन्सन २० रन बनाई आउट भएका थिए । डेब्यु गर्दै गरेका रिजन ढकालले आफ्नो पहिलो ओभरमै ढालिवाललाई आउट गरेका थिए । सोमपाल कामी र कुशल मल्लले पनि १/१ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि कुशल भुर्तेल र आसिफ शेखले नौ ओभरमा ४८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । आसिफलाई उदय भगवानले ८ रनमा आउट गरे । रोहित पनि टप एज लागि ८ रनमै आउट भए ।
शृंखलाको दोस्रो खेल शनिबार र तेस्रो सोमबार हुनेछ ।