सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। उनको छोरा राहुल महरा सुन तस्करीकै अभियोगमा तुनामा छन् ।
सिंहदरबारस्थित कार्यालयमा आयोगले बिहीबार महरासँग बयान लिएको हो । भेपमा भएको सुन तस्करीमा महरासँग पहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि कागज गराएको थियो । यी सबै सुन प्रकरणमा अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले बिहीबार दिउँसो महरालाई पनि बोलाएर बयान कागज गराएको बताइएको छ ।
आयोगले विद ल्याबका सञ्चालक भिमकान्त भण्डारीसँग पनि बयान लिएको छ । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी रुगम कुंवरसँग पनि बिहीबार नै आयोगले परामर्श गरेको बताइएको छ ।
आयोगले भेपमा भएको सुन तस्करी, ६१ किलो सुन तस्करी लगायतका प्रकरणमा अनुसन्धान गरिरहेको छ । यसमा जोडिएका व्यक्तिसँग अनुसन्धान गरिरहेको आयोगकले अनुसन्धानमा संलग्न अधिकारीहरुसँग पनि परामर्श गरिरहेको छ। अनुसन्धानमा भएका कमजोरीबारे पनि आयोगले सम्बन्धित अधिकारीहरुसँग सोधपुछ गरिरहेको छ।