१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

बालकुमारी घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको आयोगको निष्कर्ष



ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ पनि जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ ।

आयोगले शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।

ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप हुँदा गत पुस १३ गते दुई युवाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने घटनामा कमजोरी भएको निष्कर्षका साथ सरकारले ललितपुरका तत्कालीन प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह र प्रजिअ रुद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएको थियो ।

त्यस्तै, प्रदर्शनस्थलमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गृह मन्त्रालयले गरेको थियो ।

प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वाला र उनका पीएसओको लापरबाही देखिएको बताइएको छ । प्रदर्शन भएकै स्थलबाट ज्वालाको गाडी लापरबाही ढंगले लगिएको र सो क्रममा गाडीबाट झरेर ज्वालाले विवाद समेत गरेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : ४८ बजे