मुलुककै जेठो तथा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पहिलो पटक खुला प्रतिस्पर्धाका आधारमा प्रा.डा केशरजंग बराल नियुक्त भएका छन् । बराल त्रिविका २० औँ उपकुलपति बनेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा रहेको छनोट समितिले गरेको
तीन जनाको सिफारिसमा दोस्रो नम्बरमा रहेका बराल बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका हुन्। सिफारिस समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई ७८ अंक सहित १ बराललाई ७६ अंकसहित २ र प्रा.डा. टंकनाथ धमलालाई ७५ अंकसहित तीन नम्बरमा सिफारिस गरेको थियो ।
बुढाथोकी त्रिविको सन् १९८९ ब्याचका टपर हुन् । उनले चान्सलर गोल्ड मेडल पनि पाएका थिए। जर्मनीबाट पीएचडी गरेका बुढाथोकी जर्मन एकेडेमिक एक्सेन्ज सर्भेस र एभीएचबाट फेलोसिप पाएका वैज्ञानिक हुन् । हाल उनी शिक्षा संकयका डीन छन् । धमला भने म्याथम्याटिक्सका प्राध्यापक हुन् ।
विसं २०१४ सालमा पाल्पामा जन्मेका बरालले प्राध्यापनको सुरुवात विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट गरेका हुन् । पछि उनी पुथ्वीनारायण क्याम्पस पोखरा सरुवा भएर पुगे । उनले नयाँ दिल्ली युनिभर्सिटीबाट विसं २०५५ सालमा पीएचडी गरेका हुन् ।
पीएचडी सकेर नेपाल फर्किनासाथ उनले विश्व बैंकको एउटा प्रोजेक्टमा काम गरे। त्यहाँ उनले उच्च शिक्षासम्बन्धी परियोजनामा काम गरेका थिए । त्यसपछि एसियाली विकास ब्यांकको प्रोजेक्टमा ‘फाइनान्सियल एड्भाइजर’ भएर काम गरे ।
यी दुई प्रोजेक्ट सकेसँगै बराल पुनः अध्यापनमा जोडिए। बरालले पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै व्यवस्थापनमा जोडिएर काम गरेका थिए । व्यवस्थापन संकायतर्फ अध्ययन गरेका उनीसँग वित्तशास्त्रको विशेष समितिको सदस्य भएर काम गरेको अनुभव पनि छ । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फ्याकल्टी बोर्डका सदस्यमा नियुक्त भएका थिए ।
बराल विसं २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त भए । पोखरा विश्वविद्यालयको सम्बन्धन दिने क्रममा उनीमाथि अनियमितताको आरोप लागे पनि अदालतबाट सफाइ पाए ।
त्यहाँको ४ वर्षे कार्यकाल पूरा गरेसँगै उनी विसं २०६८ सालबाट पुनः त्रिविमै जोडिए । विसं २०६९ सालमा भिजिटर प्रोफेसर बनेर अध्यापनका लागि चीन गए । चीनमा एक वर्ष अध्यापन गराएर फर्किएपछि उनी त्रिविबाटै विसं २०७७ सालसम्म अध्यापन गराएर सेवानिवृत्त भए ।
बरालको ‘पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशित छ। मगर समुदायका प्रतिष्ठित प्राज्ञिक व्यक्तित्वका रुपमा चिनिने प्रा.डा. बरालले चीन, भारत, अमेरिका, भुटान लगायत देशका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रुपमा अध्यापन गराएका छन् ।