१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

एक अर्व डलर दान गरेर ९३ वर्षीया महिलाले मेडिकल कलेजलाई निशुल्क बनाइन्



अमेरिकाकी एक बृद्ध महिलाले दान दिएर एउटा मेडिकल स्कूललाई पूर्ण रुपमा निशुल्क बनाएकी छन् । सुन्दै पनि पत्यार नलाग्ने यति धेरै रकम दान गरेकी हुन्, न्यूयोर्ककी ९३ वर्षीया एकल महिला डा. रुथ गोटेसम्यानले । उनले एक अर्व डलर (करिब १ खर्ब ३२ अर्ब ६४ करोड नेपाली रुपैयाँ) सर्त रहित रुपमा दान दिएका हुन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार न्यूयोर्ककै सबैभन्दा गरिब स्थानका रुपमा परिचित ब्रोन्क्समा रहेको ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई उनले त्यहाँका विद्यार्थीहरुलाई निशुल्क पढाउन भनेर १ बिलियन अमेरिकी डलर उपहार स्वरूप दिएकी छन् ।

डा. रुथ कुनै बेला त्यही कलेजकी प्रोफेसर थिइन् भने अहिले अध्यक्ष छिन् । डा. रुथले उक्त रकम स्वर्गीय श्रीमान् डेभिड गोटेसम्यानबाट प्राप्त गरेकी हुन् । विश्व विख्यात धनाढ्य वारेन बफेटका पार्टनरका रुपमा चिनिएका उनका स्वर्गीय श्रीमान् डेभिड गोटेसम्यानले उनका लागि बिलियन डलर छोडेर गएका थिए । साथै उनले जे मन लाग्छ त्यही गर्नु भनेरका थिए ।

यो उपहार ठूलो रकमका लागि मात्रै नभएर न्यूयोर्ककै सबैभन्दा गरिब बरो ब्रोन्क्समा रहेको मेडिकल कलेजमा जाने भएकाले पनि उल्लेखनीय भएको हो । ब्रोन्क्समा अकालमा मृत्यु हुने दर उच्च छ र यो न्यूयोर्कको सबैभन्दा अस्वस्थ काउन्टीको रूपमा सूचीकृत छ । विगतको पुस्तामा, धेरै अर्बपतिहरूले न्यूयोर्कको सबैभन्दा धनी बरो म्यानहट्टनका प्रख्यात मेडिकल स्कूल र अस्पतालहरूलाई करोडौं डलर दिएका छन् ।

डा. रुथका अनुसार उनको यो उपहारले नयाँ चिकित्सकहरूले ऋण मुक्त रहेर मेडिकल कलेज छोडी आफ्नो करिअर सुरु गर्न सक्ने छन् । उक्त कलेजबाट चिकित्सक बनेर निस्कँदा थोरैमा पनि २ लाख डलरको ऋणको बोझ हुने बताइएको छ । साथै उनले पैसाको अभावमा मेडिकल कलेज जान नसकिरहेकाहरूलाई पनि चिकित्सक बन्न सहयोग पुग्ने आशा राखेका छन् ।

डा. रुथका श्रीमानको ९६ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको थियो । श्रीमानले छाडेको यति धेरै रकमका बारेमा उनल वास्ता गरेकी थिइनन् । तर छोराछोरीले उनलाई धेरै समय नपर्खिन प्रोत्साहित गरेपछि यो निर्णय गरेको बताइएको छ ।

खचाखच विद्यार्थी र शिक्षकहरुले भरिएको कलेजको सभाहालमा अब शिक्षा निशुल्क हुने भनेर डा. रुथले घोषणा गरेपछि त्यहाँ जम्मा भएकाहरु खुशीले चिच्याएको भिडियो क्लिप भाइरल भइरहेको छ ।

उनले कलेजको नाम परिवर्तन लगायतका काम गर्न आवश्यक नभएको पनि बताएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ७ : ३६ बजे