फुटपाथ व्यापारीहरुमाथि काठमाडौं महानगर प्रहरीको ज्यादती बढ्दै जाँदा मेयर बालेन साहले तिनैलाई ढाकछोप गरेपछि ३२ जना नागरिक अगुवाले संयुक्त खुला पत्र लेखेका छन् ।
पत्रमा उनीहरुले लोकतान्त्रिक पद्दती र विधिको शासनलाई मान्न आग्रह गरिएको छ । साथै उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको पनि उल्लेख गरेका छन् । गत फागुन १६ गते साँझ महानगर प्रहरीले सुन्धारा क्षेत्रमा व्यापारीहरूमाथि कुटपिट गरेको थियो ।
‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो । तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।
‘सडक व्यापारीमाथिको श्रृंखलाबद्ध ज्यादती दर्शाउने श्रव्यदृश्य सामाग्री विश्वव्यापी रूपमा निरन्तर साझा भइरहँदा हस्पिटेबल सिटी मानिएको काठमाडौंको अन्तराष्ट्रिय छविमा कालो पोतिने र पर्यटन व्यवसायमा समेत उल्लेख्य नकारात्मक असर पर्ने तर्फ पनि सचेत हुन त्यतिकै जरुरी छ,’ उनीहरूले भनेका छन्, ‘त्यसतर्फ पनि तपाईं लगायतका महानगर अधिकारीले उचित हेक्का राखका लागि हामी आग्रह गर्दछौं ।’
सर्वसाधारण जनताप्रति मानवअधिकार मैत्री व्यवहार, समग्र जनसमुदाय र जनहितकारी प्रवृति, सभ्यताका न्यूनतम मापदण्डको पालना समेतका विषयमा नगरप्रहरीलाई विशेष तालिमको खाँचो रहेको नागरिक अगुवाहरुको भनाइ छ ।
उनीहरूले आफ्नो सोच र कार्यशैलीलाई आवश्यक परिमार्जन र समायोजन गरेर तानाशाही, निरङ्कुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माण तर्फको बाटो परित्याग गर्न पनि आग्रह गरेका छन् ।
कानुनको शासनको मातहतमा चल्ने लोकतान्त्रिक नेताको रूपमा स्थापित हुने बाटोमा अग्रसर हुनतर्फ आफ्नो ध्यान केन्द्रित गर्न उनीहरूले मेयर शाहलाई आग्रह गरेका छन् ।
खुलापत्र अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणि दीक्षित, कमल बिक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईं, जेबी विश्वकर्मा, दिनेश त्रिपाठी, धनबहादुर मिजार, नितु पोख्रेल, निराजन थपलिया, बिदुर सुवेदी, प्रकाश महर्जन, प्रकाशमणि शर्मा, प्रेम सापकोटा, विकास बस्नेत, भक्त विश्वकर्मा, भगवती अधिकारी, भावना भट्ट, मनोग्य शर्मा, मारिसा टेलर, रमेशप्रसाद तिमिल्सिना, राजुप्रसाद चापागाईं, रेनु अधिकारी, लक्ष्मण बस्नेत, शर्मिला श्रेष्ठ, सरोज फुयाल, सुरेन्द्र सिं, सुशील प्याकुरेल, सोम निरौला, हरि शर्माले लेखेका हुन् ।