कैद मिनाह पाएर जेलमुक्त भएका रेशम चौधरीलाई निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को मान्यता दिन अस्वीकार गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा महाधिवेशन गरेर रेशमलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार पार्टीले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो ।
निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको छ । आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको हो । निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी छिन् ।
कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए । कारागारमै रहेका बेला उनले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको गठन गराई चुनाव लडाएका थिए । पार्टीले संघीय र प्रदेश संसदमा केही जितेको छभने केही स्थानीइ तहमा पनि जितेको छ ।
उनले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेको थियो । त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो । चौधरीले जवाफ पठाएपछि बिहीबार दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय आयोगले गरेको हो ।