प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो गठबन्धन तोडेर नयाँ समिकरण बनाउनु पर्नको दोषजति तत्कालिन सत्ता साझेदार नेपाली कांग्रेसलाई लगाएको छ ।
उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसले पटक पटक गठबन्धनमा आफु र आफ्नो पार्टी माओवादीलाई धोका दिएपछि आशंका बढेकाले नयाँ समीकरणमा जानु परेको उल्लेख गरेका छन् ।
गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँग गठबन्धन तोडेर एमाले, रास्वपा र समाजवादीसहितको नयाँ सत्ता समीकरण बनाएका थिए । कांग्रेसले प्रधानमन्त्री दाहालको उक्त कदमलाई धोका र राजनीतिक बेइमानीको संज्ञा दिएको छ ।
प्रधानमन्त्री दाहालले व्यक्तिका रूपमा कांग्रेससँगको अघिल्लो गठबन्धनमा आफूलाई समस्या नरहेको पनि चुनावमा माओवादीलाई कांग्रेसले धोका दिएका बताए । उनले चुनावमा कांग्रेसलाई माओवादीले जुन तहको सहयोग गर्यो सोही तहमा कांग्रेसबाट सहयोग नपाइएको बताए । त्यसले आपसी विश्वास कमजोर बनाएको उल्लेख गर्दै निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि कांग्रसको नेतृत्व पछि हटेको बताए ।
त्यस्तै कांग्रेसले गत माघ ११ मा भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्न भूमिका खेलेको, कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले एमालेको समर्थनमा कोशीमा मुख्यमन्त्री बनेको विषय पनि उनले उठाए ।
त्यसैगरी कांग्रेसको महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा भएको, अनावश्यक र बेसमयको मानमर्दन भएको बताए । त्यसैगरी महासमितिमा बैठकको बाहिर धर्मको नाममा स्टल राखेर हस्ताक्षर संकलन भएको पनि बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्यो,’ उनले भने ।
प्रधानमन्त्री दाहालले कांग्रेस महासमितिमा पेश भएको प्रस्तावमा ‘जनयुद्ध’ को न्यूनीकरण र दानवीकरण गरिएको पनि बताए ।
साथै सरकारमा प्रधानमन्त्रीका रूपमा आफूलाई न्याय नगरिएको गुनासो गरे । ‘साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन’ उनले भने ।