नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिक नेपाल फर्काउन आग्रह गरेका छन् ।
साथै ज्यान गुमाएकाको शव स्वदेश ल्याउन र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभसँग बिहीबार भएको टेलिफोन वार्तामा आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गरेका थिए भने व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।
दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासङ्घका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन पनि आग्रह गरेका थिए । विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएको बताइएको छ ।