प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको फागुन ३० को बैठकमा मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद् सचिवालयलाई पत्र पठाईएको छ । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट आइतबार संसद् सचिवालयमा पत्र आइपुगेको छ ।
फागुन २१ गते कांग्रेसँगको गठबन्धन तोडेर दाहालले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएका थिए । फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले संविधानको धारा १०० उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ ।
निर्वाचन पछिको १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।