१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

प्रधानमन्त्री दाहाललाई १५७ सांसदको समर्थन, १५ महिनामा तेस्रो पटक विश्वासको मत



प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनधिसभाको बहुमत सदस्यबाट विश्वासको मत पाएका छन् । गत फागुन २१ गते तत्कालिन गठबन्धन तोडेर एमालेलगायतसँग सत्ता समिकरण बनाएपछि उनले चुनाव पछि तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मतविभाजनबाट विश्वासको मतको छिनोफानो गरेका थिए । जसअनुसार प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

यस पटक दाहालको पक्षमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मतदान गरे ।

त्यस्तै डा. अमरेश सिंह, योगेन्द्र मण्डलसहितको मत पनि उनले पाए । प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । यसअघि उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक थियो । तर त्यसभन्दा बढी मत उनले पाएको छ ।

त्यतिबेला संसद्‌मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । सुरुमा एमाले, रास्वपा र राप्रपालगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले कांग्रेसलगायतसँग गठबनुधन गरेपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए । सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए ।

६ सांसद अनुपस्थित

प्रधानमन्त्री दाहालले बुधबार संसद्‍मा विश्वासको मत लिँदा ६ जना सांसद भने अनुपस्थित रहे । हाल प्रतिनिधि सभामा २७४ सांसद छन् । जसमा दाहाललाई विश्वासको मतका लागि भएको मतदानमा २६८ मात्रै सांसद उपस्थित रहे ।

जसमा इलाम क्षेत्र नम्बर २ का सांसद सुवाचन्द्र नेम्वाङको निधन भएर रिक्त छ । यस्तै, एमालेका देवराज घिमिरे अहिले सभामुख छन्, उनले मत दिँदैनन् । भूटानी शरणार्थी काण्डमा जेल परेका टोपबहादुर रायमाझी निलम्बित छन् । बिरामी भएर एमालेकै सांसद वसन्त नेम्वाङ अन्पु्थित रहे । राप्रपाका सांसद गीता बस्नेत र जनमतकी सोनु मुर्मु पनि उपस्थित भएनन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल कसैललाई भोट दिएनन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ३३ बजे