१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

बाग्लुङको बस दुर्घटना ९ को मृत्यु



बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानीमा सोमबार बेलुकी भएको सडक दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३ पुरुष र ६ महिला छन् । घटनामा २८ जना घाइते भएका छन् ।

रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस साँझ सवा ५ बजे निसीखोलामा दुर्घटनामा परेको हो । चालकसहित ३३ जना सवार बस सडकबाट १ सय ५० मिटर तल खसेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । ओरालो घुम्तीबाट बस तल भीरको खोंचमा खसेकाले उद्धारमा कठिनाइ भएको उनले बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ०८ बजे