युट्युबले महिनामै करोडौं भिडियोहरु हटाउने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युट्युबको प्यारेन्ट कम्पनी गुगलले यो साता सार्वजनिक गरेको ‘युट्युब कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ प्रतिदेवन अनुसार पछिल्लो तीन महिनामा विश्वभरबाट ९ करोड ५५ लाख ३४ हजार वटा कन्टेन्ट हटाएको उल्लेख गरेको छ ।
त्यसमध्धे अधिकांश यस अबधीमा खारेज गरिएका २ करोड ५ लाख ९२ हजार ३ सय ४१ वटा युट्युबल च्यानलको भिडियो रहेको पनि उसले उल्लेख गरेको छ । च्यानल खारेज भएपछि स्वत: डिलिट भएका भिडियोसमेत जोड्दा यो अविधिमा ९ करोड ५५ लाख ३४ हजार वटा कन्टेन्ट युट्युबले हटाएको उल्लेख छ ।
यसरी भिडियो हटाइएकोमा देश अनुसार हेर्ने हो भने भातरबाट अपलोड भएका भिडियो सबैभन्दा धेरै हटाइएका छन् । सन् २०२३ को तीन महिनामा युट्युबले भारतका मात्रै २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर रहेको छ भने सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि डिसेम्बरबीच हटाइदिएको थियो । त्यसपछि क्रमश: संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, रुस, ब्राजिल, पाकिस्तान, बंगलादेश, जर्मनी र फिनल्यान्डबाट अपलोड गरिएका भिडियो पनि युट्युबले अधिक संख्यामा हटाएको देखिन्छ ।
युट्युबका अनुसार ९६ प्रतिशत भिडियो ‘अटोमेटेड फ्ल्यागिङ सिस्टम’ मार्फत हट्ने गरेका छन् । यसको अर्थ युट्युबको कम्युनिटि गाइडलाइन्स पालना नगरिएका कन्टेन्ट (भिडियो) सफ्टवेयरले स्वत: पत्ता लगाएर डिलिट गरिदिएको थियो । बाँकी ४ प्रतिशत कन्टेन्ट भने युट्युबका जनशक्तिले एक-एक हेरेर हटाइदिएको कम्पनीको दाबी छ । युट्युबको कम्युनिटी गाइडलाइन्सअनुसार अश्लील र हिंसा दुरुत्साहन गर्ने सामग्रीसँगै उत्पीडन र घृणास्पद अभिव्यक्ति भएका कन्टेन्ट यस प्लाटफर्ममा अपलोड गर्न पाइदैन ।
कुनै युट्युब च्यानलले ९० दिनमा तीनवटा कम्युनिटी गाइडलाइन्स विपरितका कन्टेन्ट अपलोड गरेमा, एउटा मात्रै गम्भिर प्रकृतिको दुर्व्यवहारसहितको भिडियो राखेमा वा गाइडलाइन्सविपरीत काम गर्ने नियत देखिएमा त्यस्ता च्यानल खारेज गरिने युट्युबले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै ९२.८ प्रतिशत च्यानल स्पाम वा मिसलिडिङ कन्टेन्ट अपलोड भएकाले खारेज गरिएको युट्युबको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, नग्नता वा यौन सामग्री अपलोड गरिएका ४. ५ प्रतिशत र भ्रामक सामग्री अपलोड भएका ०.९ प्रतिशत च्यानल रिमुभ गरिएको प्रतिवेदनमा भनिएको छ । सरकारको आग्रहमा पनि युट्युबले भिडियोहरू हटाउने गरेको छ ।