सत्ताको लालसा कति अन्धो हुन्छ भन्ने कुरा अहिले नागरिक उन्मुक्ति पार्टिको विवादले देखाएको छ । पार्टी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ संघीय सरकारमा सहभागी हुन चाहन्छिन् भने पार्टी संरक्षक रहेका रेशम चौधरी रञ्जितालाई रोक्न चाहन्छन् ।
यिनै पति–पत्नीको लडाईमा पार्टी भने फुटको संघारमा पुगेको छ । दुवै समुह कुटाकुट र पत्ररकार सम्मेलन गरेर विवाद बाहिर ल्याउने कार्यमा सक्रिय भएको छ । सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ।
अघिल्लो सरकारमा मन्त्री रहेकी रञ्जिता फागुन २१ गते नयाँ सत्ता समिकरण बनेपछि सत्ता बाहिर छन् । उनी माओवादी–एमाले–रास्वपाको नयाँ गठबन्धनलाई समर्थन गरेर फेरी मन्त्री बन्न चाहन्छिन् । तर रेशम भने सुदूर पश्चिम सरकारमा मन्त्री थपेर प्रतिपक्षमा बस्न चाहन्छन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवादले बैठकमा सोमबार कुटाकुटको अवस्था ल्याएको हो ।
आइतबार अनामनगरमा बसेको उक्त बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ। कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन् ।
कुटपीट भएपछि रामलाल र रमेशले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर रेशक पक्षका व्यक्तिहरुले आफुहरुमाथि आक्रमण गरेको र भागेर बचेको बताएका छन् । रमेशले आफुलगायत चार जनाको हत्या गर्ने रेशमले धम्की दिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गरेको छ ।
लगतै रेशमले पनि पत्रकार सम्मेलन गरेर सबैले पार्टीको निर्णय मान्नु पर्ने बताएका छन् । पछिल्लो केही महिनादेखि पार्टीको विवादले गर्दा आफु तनावमा रहेको उल्लेख गर्दै आत्माहत्या गर्ने अबस्थामा पार्टीका केही मान्छेहरुले पुर्याएको दावी उनले गरेका छन् ।