१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

डलर अर्बपतिको संख्या २ हजार ७८१, नेपालका चौधरी १७६४ औं स्थानमा



अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले सार्वजनिक गर्ने विश्वका अर्बपतिहरुको नयाँ सूचीमा अर्बपतिहरुको संख्या बढेको छ ।

नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना बढी हो । यि डलर अर्बपतिहरुसँग विश्वको कुला १४.२ ट्रिलियन डलर सम्पती रहेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो ।

नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ । शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।

नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् । त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २ सय जना पुगेको छ ।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी सूचीको १७ सय ६४ औं स्थानमा छन् । उनको कूल सम्पती १ अर्ब ८ करोड अमेरिकी डलर रहेको छ ।

विश्वका २० सर्वाधिक धनीहरु:

१. बर्ना आर्नो : लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्ना आर्नो यो वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।
२. एलन मस्क : एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।
३. जेफ बेजोस : अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।
४. मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।
५. ल्यारी इलिसन : ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।
६. वारेन बफेट: वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।
७. बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।
८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।
९. मुकेश अम्बानी : भारतीय उद्यमी अम्बानीको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।
१०. ल्यारी पेज : गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ४३ बजे