१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

वैवाहिक बलात्कारका आरोपी निलम्बित न्यायाधीश थुनामा



वैवाहिक बलात्कारको अभियोग लागेका सर्वोच्च अदालतका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालतले गिरीलाई धरौटीमा छोडेको थियो भने उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो । उच्चको आदेश बेरितको देखिएकाले बदर गरिएको छ।

उनकी श्रीमतीले पहिल्यै गिरीविरूद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेकै अवस्थामा काठमाडौंस्थित कोठामा आएर गिरीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै अर्को जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीमा अनुसन्धान हुँदा घरबेटीका साथै अरू दुई महिलाले पनि गिरीले पीडित महिलालाई जबरजस्ती गरेको भन्ने कुरा सुनेको भनेर कागज गरिदिएका थिए । यस्तो अवस्थामा गिरी एक्लै किन पीडितको कोठामा गएको कुरालाई इजलासले अस्वाभाविक भनेको छ ।

‘यी सबै परिस्थिति र प्रमाणलाई विचार गर्दा गिरी अहिले नै कसुरदार होइनन् भन्न सकिने स्थिति नभएको’ सर्वोच्चको आदेशमा उल्लेख छ । त्यसैले काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने गरी गरेको आदेश सदर गर्ने उच्चको आदेश बदर गरिदिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश भएका बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : २८ बजे