आफै सहकारी ठगी आरोपको सामना गरिरहेका गृहमन्त्री रवि लामीछानेकी पत्नी निकिता पौडेल संलग्न साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा
मारेको छ ।
काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा छापामारी कागजातहरु तथा सफ्टवेयर जफत गरेको छ । बचतकर्ताको उजुरीका आधारमा महानगरपालिकाको सहकारी विभागले बुधबार सो सहकारीमा छापा मारेको बताइएको छ ।
गृहमन्त्रीपत्नी पौडेल पहिले सहकारीको उपाध्यक्ष थिइन् भने अहिले शेयर सदस्य छिन् । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी परेको थियो ।
यस्तै, पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ ।
महानगरपालिकाले धेरै उजुरी आएका विभिन्न सहकारीहरूमा तीन दिनयता छापा मारी कागजपत्र जफत गरिरहेको एक अधिकारीले बताए । महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।
महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो ।