१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

इलाम-२ मा कांग्रेसको उम्मेदबार डम्बर खड्का



अन्त्तत् नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले इलाम २ को उपनिर्वाचनमा आफुले भनेकै ब्यक्तिलाई टिकट दिएका छन् । नेता शेखर कोइरालाले अर्कैलाई उम्मेदबार बनाउनु पर्ने अडान राखेपछि उम्मेदबार बनाउन कार्य तीन दिनदेखि अबरुद्ध थियो ।

बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै, बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघिको निर्वाचनमा इलाम-२ मा डम्बर खड्का झिनो मतले एमालेका सुभाष नेम्वाङसँग पराजित भएका थिए । उनको निधन पछि हुन लागेको उपनिर्वाचनमा खड्काला नै उम्मेदवार बनाएको हो ।

खड्का इलाम जिल्ला सभापति पनि हुन् । उनी ०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासकुमार नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । एमाले उम्मेदवार नेम्वाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका साझा उम्मेदवार खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

सभापति देउवाले बुधबारै इलाममा खड्का र बझाङमा सिंहको नाम उम्मेदवारका लागि प्रस्ताव गरेका थिए । तर नेता शेखर कोइराला पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अडान लिएपछि निर्णय हुन ढिला भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ११ : २४ बजे