इलाम – २ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि स्वतन्त्रसहित २० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले दलको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिनेमा इलाम नगरपालिका ११ का केशवकुमार चापागाई, इलाम नगरपालिका-७ का डाकप्रसाद गौतम, फाकफोकथुम गाउँपालिका- १ का दिपेश बोहरा र फाकफोकथुम-३ इलामका डकेन्द्रसिं लिम्बु (थेगिम) रहेका छन् । त्यु्तै अछामका अर्जुनबहादुर शाही, बिर्तामोड झापाका मनोज निरौला, अर्जुनधारा झापाका योगेन्द्र गुरुङ, पोखरा कास्कीका राज बस्यालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेवारी दिएका डकेन्द्र सिंह लिम्बु थेगिमलाई पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थन रेहको बताइएको छ । जनता समाजवादी पार्टीले पनि उनलाई नै समर्थन गरेको छ ।
उक्त क्षेत्रबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।
एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लिम्बु माओवादी निकट पत्रकार हुन् र उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार चयन भएका थिए । २० जनाले उम्मेदवारी दिंदा महिलाको संख्या भने सुन्य रहेको छ ।
निर्वाचन आयोगका अनुसार २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते उजुरीउपर जाँचबुझ गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्तालिका छ । २७ चैतमै उम्मेदवारहरुले चुनाव चिह्न पाउनेछन् ।