नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल पुगेर स्वागत गर्ने भएका छन् ।
साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ ।
त्यसैगरी सरकारले मंगलबार सार्वजनिक विदा दिएका छन् भने उपहार स्वरुप दुई वटा गैंडा दिने पनि निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरले मंगलबार बेलुकी राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रीभोज दिनेछन् ।
बुधबार बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारी अमिर बुधबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री दाहालले अमिरसँग इजरायलबाट हमासले कब्जामा लिएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि अनुरोध गर्ने बताइसकेका छन् । सोमबार उनका अफन्ताहरुले पनि कतारी अमिरसँग विपिनको रिहाइको लागि अनुरोध गरिदिन अपील गरेका छन् ।