१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

कतारका अमिर काठमाडौंमा, आजै राष्ट्रपतिसँग भेटवार्ता, प्रधानमन्त्रीसँग भोली



कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी चढेको विशेष विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको हो ।

राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेका थिए । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिएको थियो ।

कतारी अमिरको भ्रमण दल दुईटा बिजनेस जेट ढाका हुँदै काठमाडौंमा अवतरण गरेको थियो । अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चारवटा विमानलाई नेपाल उडानको अनुमति दिएको थियो । जसमध्ये एउटा उडानमा अमिर रहेका थिए भने अर्को विमानमा उनका सहयोगी, कर्मचारीहरू रहेका थिए ।

सहयोगीहरू रहेको विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भइसकेको थियो । एक अर्को एयरबसकै बिजनेस जेट विमान भने ‘स्ट्याण्ड–बाई’ का रुपमा अमिरको उडानसँगै काठमाडौंमा अवतरण गरेको थियो । अमिर एयरबसको ए–३४० विमानमा नेपाल आएका हुन् । चारवटा इन्जिन भएको त्यो विमान ३ सय ५० हाराहारी यात्रु क्षमताको हो । तर त्यो विमानमा अमिरसहित ४० जना हाराहारी मात्र यात्रु थिए ।

उनी आउने विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्याण्ड–बाई’ रहेको विमान अमिरका लागि प्रयोग हुने गरी तयारी अबस्थामा राखेको थियो । बंगलादेशको राजधानी ढाकाबाट मंगलबार दिउँसो ‘स्ट्याण्ड–बाई’ का लागि तोकिएको एयरबसको ए–३४०–२११ विमान अवतरण भइसकेपछि अन्तिममा अमिर सवार विमान अवतरण भएको थियो ।

राजकीय भ्रमणकालागि चारवटा विमानमध्ये सोमबार गल्फ स्ट्रीम जी ६५० ईआर विमान काठमाडौंमा अवतरण भइसकेको थियो । त्यो विमानले अमिरको बिजनेस जेटकालागि अवतरणपछि आवश्यक पर्ने जहाजका यन्त्र र उपकरणहरू ल्याएको थियो । यो विमान लामो दुरीको उडानकालागि विश्वभर प्रख्यात छ । विश्वका भीभीआईपी, धनी, उद्यमी, सेलिब्रेटीहरू एक महादेशबाट अर्को महादेशको यात्रा गर्दा गल्फस्ट्रीम जी ६५० ईआर विमान प्रयोग गर्छन् ।

मंगलबार दिउँसो नेपाल आइ पुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि उनी राष्ट्रपति भवन गएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका हुन् । शितल निवासमा भेटवार्तापछि अमिर सोल्टी होटलमा गएका छन् । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ११ बजे