१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

संसदको प्रतिबन्ध लगाउने निर्णय विरुद्ध टिकटकले कानुनी उपचार खोज्ने



चिनियाँ सोसल मिडिया प्लाटफर्म टिकटकले अमेरिकी संसदले गरेको प्रतिबन्धबिरुद्ध कानुनी उपचार खोज्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उसले अमेरिकी संसदले पारित गरेको संसदले पारित गरेको अमेरिकामा कम्पनी बिक्री गर्नुपर्ने अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने प्रावधान पारित गरेकोलाई ‘असंवैधानिक’ भन्दै अमेरिकी अदालतमा चुनौती दिने बताएको हो ।

अमेरिकी संसदका दुबै सदनले पारित गरेको उक्त विधेयकलाई राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेसँगै लागू भइसकेको छ । नयाँ कानूनअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक प्लाटफर्म बिक्री गर्नका लागि ९ महिनाको समय दिइएको छ, अन्यथा टिकटक एप अमेरिकामा प्रतिबन्धित हुनेछ ।

टिकटकले प्रयोगकर्ताका विवरणहरु चीन सरकारलाई दिनसक्ने भन्दै अमेरिकाले उक्त कानून लागू गरेको हो । तथापि टिकटकले भने त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । ‘हामी तथ्यमा विश्वास गर्दछौँ र कानुनहरु प्रष्ट रुपमा हाम्रो पक्षमा छन् । अन्ततः हाम्रै जित हुनेछ’, एक विज्ञप्तिमा टिकटकले भनेको छ, ‘तथ्य के हो भने हामीले अमेरिकी प्रयोगकर्ताका विवरण सुरक्षित राख्नका लागि अर्बौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लाटफर्म बाह्य प्रभाव तथा हस्तक्षेपबाट मुक्त छ ।’

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : ५२ बजे