१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

इलाममा सुहाङ र बझाङमा भण्डारीको अग्रता कायमै



इलाम–२ र बझाङ प्रदेश सभा १ ‘क’ दुवै उपनिर्वचनको मत गणनामा एमाले अघि देखिएको छ । इलाममा निरन्तर एमालेका उम्मेदबार सुहाङ नेम्वाङले अग्रता लिइरहेका छन् भने बझाङमा पनि एमालेका दमनबहादुर भण्डारीले ३ सय भन्दा बढी मतले अघि निस्किएका छन् ।

शनिबार भएको इलामको उपनिर्वाचनमन नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा सुहाङले झण्डे चार हजार मत बढी ल्याएका छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएका छन् ।

पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेससँगको मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उनले ७ हजार ४५२ मत पाएका छन् । यो मत कांग्रेसको उम्मेदवार खड्काको भन्दा २०७ मात्र कम हो ।

त्यसैगरी बझाङ प्रदेश सभा १ ‘क’ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित पछ्याइरहेका छन् । त्यहाँ जम्मा १११४ मत गन्न बाँकी रहेको छ ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ४६ बजे