२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

इलाम– २ बाट एमालेका सुहाङ नेम्बाङ विजयी, १६ उम्मेदवारको जमानत जफत



इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भएका हुन् ।

मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का २१ हजार ९ सय ४२ मतसहित दोस्रा भए । सुहाङकोभन्दा डम्बरको मत ५ हजार ८ सय ३० कम हो ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेर तेस्रा भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो।

एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो। बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्।

सुहाङ पेसाले अधिवक्ता पनि हुन्। बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्।

उनले आफ्नो जीतलाई आफ्नो र पार्टीको मात्रै नभई सिंगो इलामेलीको जितको रुपमा लिएको बताएका छन् ।

१६ उम्मेदवारको जमानत जफत

यस निर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको हो ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । त्यस्तै मंगोल नेसनलका मनिबहादुर लिम्बूले ८ सय १६ मत ल्याए । त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले ४ सय ८ मत ल्याउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ सय ४ मत प्राप्त गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ०२ बजे