राजनीतिक दल र नेताहरुमा नैतिकताको खरेडी परिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समझदारी देखाएको छ । हालै सञ्चार माध्यमहरुमा राप्रपाकी एक सांसद सहकारीको रकम अपचलनमा आरोपित भएपनि प्रहरीले पक्राउ गर्न नसकेको समाचार आएपछि राप्रपाले सरकारी निकायलाई निष्पक्ष छानविन गर्न माग गरेको छ ।
यसअघि गृहमन्त्री रबी लामिछानेमाथी सहकारीको रकम अपचलन गरेको आरोप लागे लगातै सबै राष्ट्रिय स्वतन्त्र पार्टी नभएर प्रधानमन्त्रीसहित सत्तारुढ दलका सबै शीर्ष नेताहरु उनको बचाउमा लागेका थिए । उनीहरु सबैले लामिछानेलाई सहकारीको रकम अपचलनमा आरोप लगाउनु राजनीतिक पूर्वाग्रह मात्र रहेको भन्दै उनी निर्दोष रहेको अभिब्यक्ति दिएका थिए ।
तर राप्रपाले प्रतिनिधिसभाकी आफ्नो सांसद गीता बस्नेतलाई अनुसन्धानमा सघमउनसमेत निर्देश गरेको छ । मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न भएको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो ।
सांसद बस्नेत सञ्चालक रहेको कम्पनीबाट सहकारीको बचत अपचलन भएको विषय सार्वजनिक भएपछि राप्रपाले छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई निर्देशनसमेत दिएको छ ।
‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकामा सोसम्बन्धी छानबिनमा सघाउ पुर्याउन निजलाई निर्देशन दिइयो । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धित त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दियाको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ बिनाधितो ऋण लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।