१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

जापानकी विदेशमन्त्री खामीखावा एक दिने नेपाल भ्रमणमा



जापानकी विदेशमन्त्री खामीखावा योको नेपालको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आएकी हुन् ।

खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने छैन । परराष्ट्र मन्त्रालयका अनुसार “जापानी विदेशमन्त्री कामीकावाको मैत्रीपूर्ण नेपाल भ्रमण हो । नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी हुँदैन ।’

यो भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

उनले आइतबार दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनी २:३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३:३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् । त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामच्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ३७ बजे