१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

‘इनड्राइभ’को औपचारिक सेवा सुरु, राइडरबाट दश प्रतिशतसम्म कमिशन लिने



राइड सेयरिङ एप इनड्राइभले औपचारिक रूपमा नेपालमा दर्ता भएर सेवा सुरू गरेको छ । करिब तीन वर्षदेखि अनौपचारिक रुपमा सेवा दिइरहेको इनड्राइभले औपचारिक रूपमा कम्पनीमा दर्ता गरेको हो ।

कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले सोमबारदेखि १० प्रतिशत कमिसन लिने बताएको छ ।

कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा सेवा सुरू गरिसकेको छ । छिट्टै अन्य सहरमा पनि सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ । दर्ता विनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो ।

नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको लामो समय भएपनि अझै पनि कानुनी व्यवस्था हुन सकेको छैन । नेपालमा पहिलो पटक २०७३ मा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो । तर त्यसले निरन्तरता पाउन सकेन ।

त्यसपछि पठाओ लोकप्रिय बनेको थियो । तर पछिल्लो समय कमिशन समेत नलिने भएपछि धेरै राइडरहरु इनड्राइभमा जोडिएका थिए । सोमबारदेखि यसले पनि औपचारिक रुपमा दर्ता गरेर दश प्रतिशत कमिशन लिन सुरु गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ३७ बजे