थुनामा रहेका नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई आम निर्वाचनसम्मका लागि अन्तरिम जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
भारतको सर्वोच्च अदालतले शुक्रबार केजरीवाललाई जुन १ सम्मका लागि जमानतमा छाड्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन् । भारतमा जारी लोक सभा निर्वाचनका लागि उनलाई जमानतमा छाड्न आदेश दिइएको हो ।
यद्यपि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले निर्वाचनका लागि छाड्न नहुने तर्क गरेको थियो । दिल्लीमा मे २५ तारिखमा निर्वाचन हुँदैछ ।
सर्वोच्चको आदेश अनुसार चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनले आत्मसमर्पण गर्नुपर्ने हुन्छ । निर्वाचनको मतगणना र मतपरिणाम आउँदा भने उनी थुनामै हुनेछन् ।
केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी तिहाड जेलमा राखिएको छ ।