सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को बर्षेअधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो ।
कांग्रेस महामन्त्री गगन थापालाई सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका थिए । त्यसक्रममा उनले संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारबाही अघि बढ्न नदिने घोषणा गरे । उनले गृहमन्त्री रवि लामिछानेकाबारेमा सहकारीको रकम अपचलन गरेको अनेक प्रमाण रहँदा रहँदा पनि प्रधानमन्त्रीदेखि प्रहरी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दुरुपयोग गरेको थापाले बताएका थिए ।
उनले सरकारले गृहमन्त्री लामीछानेलाई क्लिनचिट दिन खोजेकोले आफुहरुको सरकारप्रति बिश्वास नभएकोले संसदीय छानविन हुनु पर्ने अडानमा आफुहरु रहेको उल्लेख गरे ।
प्रतिनिधि सभाको बैठक सुरु भएपछि सभामुखले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसपछि सभामुखले बैठकमा अधिवेशन सुरु भएकोमा त्यसबारे आफ्नो सन्देश सुनाएका थिए । नवनिर्वाचित सांसदहरूलाई बधाई दिएका थिए ।
त्यसपछि नियमित कार्यसूचीमा बैठक अघि बढाउन खोज्दा कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । उनीहरूको विरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद थापालाई सुरूमा ३ मिनेट बोल्न समय छुट्याएका थिए । तीन मिनेटको समय कम भन्दै कांग्रेस सांसदहरूले विरोध गरे । त्यसपछि सभामुखले पाँच मिनेट समय दिएका थिए ।
त्यसपछि बोल्ने समय पाएका कांग्रेसका गगन थापाले सदन चलाउने जिम्मा कांग्रेसले लिन नसक्ने भन्दै छानबिन समिति नबन्दा सम्म कुनै कारबाही अघि नबढ्ने धारणा राखे । थापाले बोलेपछि सभामुखले नियमित कार्यसूचीमा अघि बढ्न खोजेका थिए । त्यसपछि कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे । सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको बताए ।