१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

कामीरिता शेर्पा २९औं पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरामा



किर्तीमानी आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा रहेको आफ्नै किर्तीमान तोडेका छन् । उनले आइतबार बिहान सर्वोच्च शिखर सगरमाथाको २९ औं पटक आरोहण गरेर आफ्नै नाममा रहेको धेरै पटक सगरमाथा आरोहणको किर्तीमान तोडेका हुन् ।

गत वर्षको स्प्रिङ सिजनमा उनले २८ औं पटक सगरमाथाको आरोहण गर्दै आफ्नो नाममा धेरै पटक सर्वोच्च शिखरको आरोहण गर्ने किर्तीमान कायम गरेका थिए । उनको आरोहण व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्स प्रालिका अनुसार आइतबार बिहान ७:२५ मा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

सेभेन समिटका अनुसार कामीरितासँगै आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेकाहरुमा अमेरिकी नागरिकद्वय किया नूश रावनफर र माइकल एन्ड्रयू अर्नस्टेन, पहिलो पटक सगरमाथाको आरोहण गरेका स्लोभाक महिला लुसिया जेनिकोभा, क्यानडाका ल्यान्ड्री जेम्स वार्नेज, बेलायती नागरिक जोर्डन योगेन्द्र क्षेत्री, सगरमाथाको पहिलो आरोहण गरेका कजाख महिलाहरु मैक्सुत झुमायेव र अनार बुराशेवा रहेका छन् ।

त्यसैगरी नेपाली नेपाली गाइडहरुमा पासाङ दुक्पा शेर्पा, लाक्पा तेन्दु शेर्पा, धर्छे भोटे, छेदार भोटे, रिन्जिन भोटे, रिमा रिञ्जे शेर्पा, गेल्जे शेर्पा, फुरी शेर्पा, दावा फिन्जो लामा भोटे, अंगी भोटे, छिरिङ नुप्पा भोटे र दावा फिन्झोक शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएका थिए । कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा शेर्पा छन् । गत वर्ष कामीरिताले एकै सिजनमा दुई पटक सगरमाथा चढेर आफ्नो किर्तीमान कायम राखेका थिए ।

उनले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि उनले धेरै जसो वर्ष सगरमाथाको आरोहण गर्दै आएका छन् । बीचमा उनले सगरमाथा आरोहण नगर्ने घोषणा गरे पनि पछि आफुहरुसँगै आरोहण गर्न चाहने आरोहीहरुको अनुरोध र आफ्नै व्यक्तिगत कारणले पनि आरोहण यथावत राखेको बताएका थिए ।

यस वर्षको स्प्रिङ सिजनको आरोहण आइतबार सुरु भएको हो । शनिबार मात्र सगरमाथाको चुचरोसम्म डोरी टाँग्ने काम सम्पन्न भएको थियो । सेभेन समिट ट्रेक्सका १० जना शेर्पाहरुले शनिबार सगरमाथाको चुचुरासम्म डोरी टाँगेका थिए । यस वर्षको स्प्रिङमा सगरमाथाको पहिलो आरोहण गर्ने समुह उनीहरु नै हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ४३ बजे