लामो समयदेखि आफुले संसदमा बोल्न पाउनु पर्ने माग राख्दै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार पाएको अवसरमा आफूमाथि लागेको सहकारी ठगीको आरोपको बचाउ मात्र गरेनन् विपक्षी कांग्रेस र विशेष गरे महामन्त्री गगन थापाविरुद्ध आरोपको वर्षा गरेका छन् ।
उनले लगाएका केही आरोपहरु संगीन खालका छन् भने उनले अरुलाई आरोप लगाउँदा आफु गृहमन्त्री भएको विर्सेको अनुभूति गराएका छन् । अहिले गृहमन्त्रीको रुपमा जुनसुकै आरोपको पनि अनुसन्धान गरेर कारवाही गर्ने अधिकार रहेको छ तर उनले संसदको रोष्टममा उभिएर टेलिभिजन कार्यक्रममा चलाए जसरी अरुलाई गाली गरे ।
गृहमन्त्री लामिछानेले देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। यो गम्भीर लाञ्छना उनले कांग्रेस महामन्त्री गगन थापाप्रति लगाएका थिए । गृहमन्त्रीले यति संगीन आरोपमा उनले छानविन गरेका भने छैनन् ।
‘सहकारी ठगी गर्नेलाई मात्र होइन, अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऊँ, दुई–तीनवटा नागरिकता बोक्नेलाई मात्र होइन । नागरिकता एउटै बोक्ने देशकै बोक्ने, देशकै सूचना बोक्ने देशका एजेन्ट र एसेट्सहरूलाई पनि बाहिर पठाऊँ । संसदबाट हटाऊँ । त्यो जतिसुकै शक्तिशाली होस्, त्यो देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्!,’ उनले भनेका थिए ।
उनले २०५५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति भएका बेला भ्रष्टाचार गरेको भन्दै कांग्रेसका महामन्त्री थापालाई आरोपित समेत गरे । ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजको पार्क निर्माणमा भ्रष्टाचार भएको, ३० लाखभन्दा बढी बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको एउटा समाचार आएको थियो,’ उनले भने, ‘त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेब साइट बनाउँछु भनेर पाँच लाख पेस्की लिएर वेब साइट नबनाएको समाचार आएको थियो।’
उनले व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टबाट सुनखानी एकीकृत कषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फार्म र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेको उल्लेख गर्दै थापालाई आरोपित समेत गरे । रकम हिनामिनाको आरोप लागेपछि प्याक्टलाई प्रभावमा पारेर अनुदान नलिएको विज्ञप्ति निकाल्न लगाएकोसमेत गृहमन्त्री लामिछानेको आरोप थियो ।
त्यस्तै स्वास्थ्य मन्त्री भएका बेला १४ करोड रुपैयाँ लिएर राजकुमार रौनियारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति बनाउन खोजिएको आरोपसमेत लगाए । त्यतिबेला माथि बुझाउनुपर्ने भन्दै हाकाहाकी पैसा मागिएको उनको आरोप थियो ।
गृहमन्त्री लामिछानेले कांग्रेस उपसभापति धनराज गुरूङमाथि लागेको रातो पासपोर्ट बिक्री आरोपको चर्चा पनि गरे । यद्यपि रातो पासपोर्ट (कूटनीतिक पासपोर्ट) प्रकरणमा गुरूङले विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।
उनले वाइडवडी जहाज खरिददेखि नक्कली भूटानी शरणार्थी र कैलालीको जग्गा घोटलासम्ममा कांग्रेसका नेताहरु मुछिएको उल्लेख गर्दै ती सबैको बारेमा संसदीय छानविनसमिति गठन गर्नु सकिन्छ भनेर प्रश्न गरे ।
उनले आफु माथी लागेको सहकारी ठगीका सम्बन्धमा भने थोरै मात्र बोले । उनले आफु सहकारीको सदस्य पदाधिकारी वा ऋणी केही नभएको जीकिर गरे । साथै जीबी राईले गरेको फोहोर आफुले नसोर्ने पनि बताए ।