बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै चुनावको मिति घोषणा गरेका हुन् ।
उनले बुधबार राति अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । बेलायती परम्परा अनुसार राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराएपछि संसद भंग गरिर चुनावी प्रक्रिया सुरु गरिनेछ ।
उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । सन् २०२२ मा फिक्स्ड टर्म इलेक्सन एक्ट रद्द भएपछि बेलायतका प्रधानमन्त्रीले आफूलाई अनुकूल समयमा चुनावको मिति घोषणा गर्ने बाटो खुलेको छ ।
ऋषि सुनकले चुनाव घोषणा गर्दै ‘बितेका पाँच वर्ष देशका लागि दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा चुनौतीपूर्ण रह्यो । आगामी दिनमा म तपाईंहरुको हरेक भोटका लागि लड्नेछु । हामीसँग स्पष्ट योजना छ’ उनले भनेका छन् ।
प्रधानमन्त्री सुनकले किन समय अगावै चेनावको घोषणा गरे भन्ने बारे खुलाइएको छैन । तर समाचाहरु अनुसार सत्तारुढ कन्जरभेटिभ पार्टीका केही सदस्यहरूले ऋषि सुनकविरुद्ध अविश्वासको माग गरेको उल्लेख गरेका छन् ।