सर्वोच्च अदालतले खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणालाई असंवैधानिक भन्दै ४८ घण्टाभित्र कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो ।
‘६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यकै समर्थनमा प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेशसभाका सभामुखबाट भएको घोषणा नेपालको संविधानको धारा १८८ को उपधारा ३ विपरीत रहेको हुँदा गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट २०८१/०१/२३ मा गर्नुभएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ’, सर्वोच्चले सोमबार सार्वजनिक गरेको संक्षिप्त फैसलामा भनिएको छ ।
अधिकारी विश्वासको मत पाउन नसकेर पदमुक्त भएको भन्दै सर्वोच्चले यो आदेश पाएको ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।