२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

प्रधानमन्त्रीद्वारा आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा



प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् । पर्वतीय पर्यटनमा संलग्नहरुले लामो समयदेखि कोषको माग गर्दै आएको थियो ।

७१औं सगरमाथा दिवसको अवसरमा बुधबार रमजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्त्वपूर्ण सावित हुने बताए ।

प्रधानमन्त्री दाहालले आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने पनि बताए । उनले आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताए । जलवायु परिवर्तनका असरलाई न्युनीकरण र हिमालमा फोहोरमैलाको व्यवस्थापनलगायतका चुनौतीलाई सामना गर्दै हिमालमा प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको उनको भनाई थियो ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : ५३ बजे