४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कीर्तिमानी आरोही निर्मल पुर्जामाथि दुई महिलाद्वारा यौन दुर्व्यवहारको आरोप



कीर्तिमानी आरोही निर्मल पुर्जालाई दुई आरोही युवतीले यौन दुर्व्यवहारको आरोप लागेका छन् । पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टा र अमेरिकाको क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पुर्जालाई यौन दुर्व्यबहारको आरोप लगाएका हुन् ।

पुर्जाले भने आरोपहरु मिथ्य भएको उल्लेख गर्दै आफु दुवै जनाबिरुद्ध कानुनी उपचारमा जाने उल्लेख गरेका छन् ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको उल्लेख गरेकी छन् । यसअघि उनले आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा एक जना चर्चित आरोहीले दुर्व्यवहार गरेको उल्लेख गरेपनि नाम भने उल्लेख गरेकी थिइनन् ।

शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएपछि आफ्नो इन्कारीको बावजुद पनि निम्सले आफ्नो कपडा खोल्न थालेपछि आफु जमे जस्तो भएको उल्लेख गरेकी छन् । ‘मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए’ उनले भनेकी छन् ।

उनले त्यतिबेला पुर्जाका लागि ‘नो’ भन्नुको उनलाई कुनै अर्थ नभएको बताएकी छन् । ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनको भनाई छ ।

आफूले निरन्तर अस्वीकार गरिरहेपछि पुर्जा एकदमै रिसाएको पछि पुर्जा बाथरुममा प्रवेश गरेका बेला आफूले लुगा लगाएको बताएकी छिन् ।

न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।

क्यालिफोर्नियाकी डा. लियोनार्दोले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी हुन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका पुर्जाले दुर्व्यवहार गरेको बताएकी छन् । दुवैले महिलाले साथीभाइ र परिवारलाई यसबारे सुनाएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले हेरेको रिपोर्टमा उल्लेख छ ।

बेलायती सेनामा कमाण्डोको रुपमा काम गरेका पुर्जाले सबै भन्दा कम समयमा विश्वका आठ हजारमिटर भन्दा अग्ला १४ वटै हिमाल चढेको किर्तीमान बनाएका थिए । त्यसपछि उनी चर्चित आरोही बनेका हुन् । हाल आरोहणसम्बन्धी कम्पनी चलाइ रहेका नेपाली मूलमा बेलायती नागरिक पुर्जाबारे “मिसन पोसिबल” मुभी नेटफ्लिक्समा छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ९ : ४७ बजे