२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

यार्सा संकलन गर्न गएका चारको मृत्यु, एक युवकको उपचार हुँदै



मुगुमा यार्सागुम्बा संकलन गर्ने क्रममा चार जनाको मृत्यु भएको छ । गएको दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको छ। लेक लागेर गम्भीर भएका अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको बाटोमै मृत्यु भएको हो। सोही ठाउँका २० वर्षी जीवन बुढा सिकिस्त छन्।

शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको पनि मृत्यु भएको छ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको थियो। रासस

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ९ : ५३ बजे