१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

अमेरिकी राष्ट्रपतिका छोरा हन्टर बाइडेन तीन कसुरमा दोषी ठहरिए



अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुक किन्दा झुटो विवरण भरेकोलगायत तीन मुद्दामा दोषी ठहरिएका छन् । डेलावेयरको संघीय अदालतमा हालिएको मुद्दामा १२ जना जुरी सदस्यले सर्वसम्मत रूपमा मंगलबार हन्टरलाई तीन कसुरमा दोषी ठहर गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनीमाथि सन् २०१८ मा बन्दुक किन्दा संघीय फारममा ढाँटेको, लाइसेन्स प्राप्त संघीय बन्दुक डिलरलाई ढाँटेको र ११ दिन गैरकानुनी रूपमा बन्दुक राखेको तीन अभियोग लगाइएका थिए । यी तीनै अभियोगमा उनी दोषी ठहरिएका हुन् ।

कानुन अनुसार लागुपदार्थ दुर्व्यसनी र मानसिक अशक्तता भएकालाई बन्दुक राख्न दिँदैन, तर हन्टरले सो पिस्तोल खरिद गर्दा आफ्नो कोकिनको लत बारे फारममा भरेका थिएनन् । उनलाई बन्दुक किन्न भरेको विवरणमा आफू लागुपदार्थ दुर्व्यसनी भएको कुरा लुकाएको आरोप लागको थियो ।

बन्दुक किनेको ११ औं दिनमा हन्टरकी भाउजू (सन् २०१५ मा मृत्यु भएका बो बाइडेनकी श्रीमती) ह्यालीले सो बन्दुक हन्टरको गाडीमा भेटेर कोकिनको लतमा रहेका हन्टरले गोली हानी आत्महत्या गर्न सक्ने डरले ह्यालीले उक्त बन्दुक नजिकैको सुपरमार्केटमा रहेको फोहोर फाल्ने भाँडोमा फ्याँके बताइएको छ ।

यो मुद्दामा हन्टरलाई सजाय भने सुनाइएको छैन । यसमा अधिकतम २५ वर्षसम्मको कैद सजाय हुन सक्ने बताइए पनि उनको आपराधिक विगत नभएकाले कैद सजाय नहुन सक्ने अनुमान पनि गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : ०८ बजे