शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनपछी ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले चैतमा शिक्षकहरुलाई राजनीतिक आवद्धता त्याग्न निर्देशन दिएकी थिइन् ।
उनले कुनै शिक्षक दलमा आवद्ध भए उजुरी दिन समेत आह्वान गरेकी थिइन् । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको सय दिन पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएका हुन् ।
उनका अनुसार २० जनाले भने शिक्षण पेशाबाट राजीनामा दिएको बताए । साथै ४५ जना शिक्षकविरुद्ध उजुरी परेकोमा ४१ जनालाई स्पष्टीकरण सोधिएको उनको भनाई थियो । स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले सफाइ पाएको बताइएको छ ।
शिक्षा दलीयकरणबाट मुक्त हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले उक्त निर्देशन दिएकी हुन् । ‘शिक्षामा दलीय राजनीति हुनु हुँदैन भनेर मेरो अन्तिम साससम्म नछाड्ने कुरा हो, अहिले हामीले गरेको काम शुरुवात हो’ उनले पत्रकार सम्मेलनमा भनिन् ‘सबैजनाले सहयोग गर्नुभयो भने सजिलो हुन्छ, नत्र गाह्रो हुन्छ ।’
मन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिकाको बचाउ गरिन् । गत १३ जेठ मन्त्री श्रेष्ठले जारी गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ ले सामुदायिक विद्यालयका शिक्षक सरुवा असहज बनाएको र विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरेको भन्दै आलोचना भइरहेको छ ।
मन्त्री श्रेष्ठले भने राजनीतिक पहुँचको आधारमा हुने शिक्षक सरुवालाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको र यसले शिक्षकहरुबीच प्रतिस्पर्धा बढाउने तर्क गरिन् । उनले योग्य शिक्षकको सरुवा हुने व्यवस्था गरेको भन्दै यसले धेरै शिक्षकबीच प्रतिष्पर्धा हुने बताइन् ।