११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

छाउगोठ बसेकी किशोरीलाई बलात्कार, एक पक्राउ



अछामको पञ्चदेवल विनायक नगरपालिका–२ रिठे तोलामा छाउगोठ बसेकी एक १६ वर्षीया किशोरी बलात्कारमा गरिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १७ वर्षीय किशोर पक्राउ गरिएको छ । छाउगोठमा अचेत अवस्थामा फेला परेकी ती किशोरीको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपछि बलात्कारको घटना बाहिरिएको हो ।

छाउगोठमा किशोरी बेहोस रहेको सूचनापछि जनप्रतिनिधि र प्रहरी टोलीले उनलाई उद्धार गरेर अस्पताल लगेको थियो । अस्पतालमा होस आएपछि पीडित किशोरीले आफूमाथि बलात्कार भएको बयान दिएकी हुन् ।

पीडित किशोरी र पक्राउ परेका बलात्कार आरोपी १७ वर्षीय किशोरको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडित किशोरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने आरोपित किशोर प्रहरीको हिरासतमा छन् । सोमबार राति २ बजेतिर शौच गर्न बाहिर आएको बेला आफूमाथि बलात्कार भएको किशोरीले बताएकी छन् ।

पिसाब गर्न गएका बेला ती किशोरले आक्रमण गरेको र अरु मान्छेहरु बोलेको आवाज सुनिएपनि बेहोस भएकाले त्यसपछि के के भयो आफुलाई थाहा नभएको किशोरी बताएकी छन् ।

आरोपित किशोरलाई हिरासतमा राखेर उनीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । किशोरीको उद्धारपछि उनी बस्ने छाउगोठ भत्काइएको छ ।
गाउँले र छरछिमेकीले भने किशोरीलाई छारे रोग भएको भन्दै कसैलाई खबर नगरेको बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बुधबार  ११ : ०४ बजे